वीरगंज,२३ चैत्र । पर्साको निर्मलवस्तिको विजयवस्ति स्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय केन्द्रबाट एसएलसीको परिक्षा दिइरहेका परिक्षार्थिहरुमा आज पनि स्वास्थ्य समस्या देखिएको छ ।  सो परिक्षा केन्द्रबाट परिक्षा दिइरहेका १ छात्र र ५ छात्रा गरि कुल ६ जना छात्रछात्रा बिरामी परेका हुन् । दिपकनगरकी गगा आचार्र्य र कन्छि थापा मगर तथा ओडार माविकी सन्ध्या वस्नेत, चन्दा खड्का, शशि तामांग र सानु सार्किमा स्वास्थ्य समस्या देखीएको हो । विरामी मध्ये सन्ध्या बस्नेतको अवस्था चिन्ताजनक रहेको केन्द्रध्यक्ष्ँ नारायण लामाले बताउनुभयो । वेहोस भएकी बस्नेतलाई एम्बुलेन्स मार्फत थप उपचारका लागि वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना गरिएको जिल्ला शिक्षा अधिकारी राम विनय सिंहले बताउनुभयो । सो परिक्षा केन्द्रबाट परिक्षा दिइरहेका परिक्षार्थीहरुमा स्वास्थ्य समस्या देखिएपछि जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहको नेतृत्वमा जनस्वास्थ्य र चिकित्सकको टोली सो केन्द्रमा पुगेको थियो । केही विरामी परिक्षार्थीहरुलाई परीक्षा स्थलमै स्लाइन दिएर परिक्षामा सहभागी गराइएको जिल्ला शिक्षा अधिकारी सिंहले बताउनुभयो । विद्यार्थीमा पेट दुख्ने, सास रोकिने, ब्लड प्रेसर कम हुने लगायतको समस्या देखिएको थियो । परीक्षाको बेला त्रास र तनावमा हुदा विद्यार्थी बिहान खाली पेट परीक्षा दिन आउँदा बिरामी परेको टोलीमा सहभागी डा.जावेद अख्तरले बताउनुभयो ।