बीरगंज, २६ साउन ÷ पर्साका सभासद जयप्रकाश थारुको संसदीय क्षेत्र विकास कोषको रकमबाट निर्माण गरिएका भौतिक पूर्वाधार विकासहरु गुणस्तर कम भएको स्थानीय केहीले आरोप लगाएका छन् । नेपाल तरुण दल पर्साका पुर्व अध्यक्ष एवम नेपाल कृषक हकहित संघर्ष समितिका अध्यक्ष सहरुम राउद गद्दीले आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरेर क्षेत्र नम्बर ५ मा निर्माण गरिएका विकास योजनाहरु अहिले देखि नै भत्किन थालेको र सडकहरु पनि गुणस्तर नभएको आरोप लगाउनुभयो । गद्दीले क्षेत्र नम्बर ५ सुपौली वडा न.ं–४ भवानीपुरमा एक लाख २१ हजारको लागतमा निर्माण गरिएको मंगलबाबा मन्दिर निर्माण गरेको १५ दिन नबित्दै भत्किएको बताउनुभयो । त्यस्तै सुपौली गाविसकै वडा नं.–७ मा पर्ने सडक ग्राभेल गुणस्तर हिन सामग्री प्रयोग भएको आरोप लगाउनुभयो । सडक ग्राभेलमा बालुवाको मात्रा बढी हालिएको गद्दीको कथन थियो । पत्रकार सम्मेलनमा क्षेत्र नम्बर ५ को संसदीय प्रतिनिधि राघव साहले सडक ग्राभेलमा गुणस्तरीय भएको दावी गर्नुभयो । वहाले गुणस्तरिय काम भएको दावी गर्दै उपभोक्ता समिती, ठेकेदारले आखा छलेर काम गरेको भए थाहा नभएको बताए । वहाले मन्दिरको विषयमा भने संरचना निर्माण गर्ने क्रममा भत्किएको तर अहिले पुनः निर्माण भइरहेको बताउनुभयो । गद्दीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अबुलेश अन्सारी लगायतको सहभागिता थियो ।