बीरगंज, ९ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले आज बेलुकी आठ बजेदेखि लागू हुनेगरी पर्साको मुख्य राजमार्ग क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी भारतीय सीमा जोड्ने पर्साको मितेरी पुलदेखि भन्सार क्षेत्र, रजतजयन्ती चौक, बसपार्क, प्रतिमा चौक, गण्डक, परवानीपुर पर्सा जिल्ला भित्र पर्ने स्थानमा आज बेलुकी ८ बजेदेखि भोली विहान ६ बजे सम्म निषेधित क्षेत्र घोषणा गरेको हो । निषेत्रित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर कुनै सभा, सम्मेलन गर्न नपाईने भएको छ । त्यस्तै सुख्खा बन्दरगाह, इनर्वा भन्सार कार्यालय, चण्डाल चोक, जगरनाथपुर, पुरवानीपुर सडक खण्डको दुईसय मिटर वरपर आज बेलुकी ८ बजेदेखि भोली विहान ६ बजे सम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उप दफा ३ को क बमोजिम एकठाउँमा पाँचजना भेला हुन, तथा कुनै पनि भेला, सभा, सम्मेलन र जनप्रदर्शन गर्न नपाईने जनाएको छ । स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको उल्लंघन गरेमा सुरक्षाकर्मीले प्रचलित कानुन बमोजिम कारवाही गर्न सक्ने पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो । त्यस्तैगरि भन्सारमा रोकिएका गाडी गन्तव्यमा पुर्याउन वीरगंज–पथलैया करिडोरमा पर्ने त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । आज बेलुकी ८ बजेदेखि भोली बिहान ६ बजेसम्म राजमार्गलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनु भयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निषेधित क्षेत्रमा गस्ती गर्ने उहाँले बताउनु भयो । मधेश केन्द्रित दलहरुको अव्हानमा भैरहेको आन्दोलनका कारण एकहजार भन्दा धेरै मालवाहक गाडी बीरगंज भन्सार पारी भारतीय सीमामा रोकिएका छन । मालवाहक ट्रक, कन्टेनर, प्लेटफर्म ट्रक, भेहिकल कार्गोलगायत गाडीको लर्को सीमावर्ती भारतीय सहर रक्सौलको लक्ष्मीपुरसम्म पुगेको छ । अरुबेला दैनिक ५ सयसम्म मालवाहक गाडी वीरगंज भन्सार हुँदै नेपाल भित्रिने गरेको थियो ।