वीरगंज श्रावन १७

इन्डोनेसियामा हुने १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान गरेको छ ।नेपाली टिमले थाइल्याण्डको बैंककमा शनिबार र आइतबार संचालन हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागिता जनाउनेछन् ।नेपाल जुडो संघले यस प्रतियोगितालाई एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ ।थाइल्याण्डबाट नेपाली खेलाडी बैदेशिक प्रशिक्षणका लागि हंगेरी जाने नेपाल जुडो संघले जनाएको छ । हंगेरीमा केही दिन प्रशिक्षण गरेर उनीहरुले बुडापेस्ट ग्राँपी जुडो प्रतियोगितामा समेत सहभागिता जनाउनेछन् । त्यताबाट सोझै नेपाली टिम इन्डोनेसिया जानेछ ।१४ सदस्यिय नेपाली टिमलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य लगायतले विदाई तथा शुभकामना व्यक्त गरेका छन् ।नेपाली टिममा ६ पुरुष तथा चार महिला खेलाडी छन् । टिमका साथमा तीन जना प्रशिक्षक र एक जना ब्यवस्थापक रहेका छन् ।रोमानियाली प्रशिक्षक डान टेलेर्काको नेतृत्वमा रहेको नेपाली प्रशिक्षण टोलीको सहभायक प्रशिक्षकमा चन्द्र कुमार डंगोल र देवु थापा छन् ।