वीरगंज, २ असोज । पर्सामा भारतसँग सीमा जोडिएका ७३ मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील देखिएका छन । आज स्थानीय तह निर्वाचनका लागि पर्सामा १६७ मतदानस्थल तोकिएका छन् । तीमध्ये सुरक्षा दृष्टिले ७३ वटा अति संवेदनशील, ७९ संवेदनशील र बाँकी १५ सामान्य मतदानस्थलका रुपमा निर्धारण गरेको जिल्ला सुरक्षा समितिले जनाएको छ । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले भारतसँग सीमा जोडिएका स्थानमा तोकिएका सबै ७३ वटै मतदानस्थललाई अति संवेदनशील भनेर विश्लेषण गरिएको जानकारी दिनु भयो । पौडेलका अनुसार ठोरी, बेल्वा, चोर्नी, जगरनापुर, भेडिहारी, जानकीटोला, प्रसौनी, सोलखपुर, लम्हरिया, हरिहरपुरबिर्ता, कटीबलुवा, पिडारी गुठी, पर्शुरामपुर, सबैठवा, धोरेका साथै वीरगन्ज महानगरपालिकाका छपकैया, इनर्वा, नगवा, भेडियाही, लक्ष्मणवा, अलौं, सिर्सिया लगायत स्थानका मतदानस्थल अति संवेदनशील छन । आसन्न निर्वाचनको सुरक्षा चुनौती र संवेदनशीतलतालाई आधार मानेर मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन समूहमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका निमित्त प्रजिअ पौडेलले बताउनु भयो ।
यसैबीच निर्वाचनमा पर्सा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार आठ सय सुरक्षाकर्मी परिचालन भएका छन् । निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लामा नेपाल प्रहरीका मात्रै २,३७५ जनालाई परिचालन गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।
पर्सा जिल्लामा अहिले नेपाल प्रहरीका ९३८ जना मात्र कार्यरत रहेको भन्दै प्रउ गिरीले चुनावका लागि अपुग १,४३७ जना नेपाल प्रहरीका जवान अन्य प्रदेशबाट झिकाइएको बताए । यस्तै, आसन्न निर्वाचनका लागि पर्सामा सशस्त्र प्रहरीको तर्पmबाट १,४२८ जना जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील पराजुलीले जानकारी दिनु भयो । पर्सामा अहिले ६६३ सशस्त्र प्रहरी कार्यरत रहेकाले चुनावका लागि अपुग ८६५ सशस्त्र प्रहरी अन्य प्रदेशबाट झिकाइएको सप्रनाउ पराजुलीले बताए । पर्साका अधिकांश गाउँ भारतको सीमा सँग जोडिएको कारण चुनावको लागि विशेष सुरक्षा रणनीति बनाएर उच्च सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिनु भयो ।