वीरगंज अषाढ ६

वीरगञ्जका सबै नाकामा मानव बेचविखन विरुद्ध निगरानी बढाउनुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका छन् । मानव बेचविखन विरुद्ध काम गर्दै आएको संस्था माईती नेपालले वीरगञ्जमा आयोजना गरेको अन्र्तक्रियामा सञ्चारकर्मीहरुले त्यस्तो सुझाव दिएका हुन् । माईती नेपालले वीरगञ्जको मुख्य भन्सार नाकाको शंकराचार्य गेट र ठोरी नाकामा घुम्ती राखेर निगरानी गर्दै आएको छ ।हाम्रो आवाज मानब वेचविखन बाट मुक्त समाज भन्ने नाराका साथ संस्थाले बुधबार मानव बेचविखन तथा असुरक्षित बसाईसराई न्युनिकरणमा सञ्चारकर्मीको भूमिका विषयक अन्र्तक्रियाको अयोजना गरेको थियो । वीरगञ्जको कन्ट्री ईन होटलमा आयोजना गरिएको अन्र्तक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष अनुप तिवारीले वीरगञ्ज र ठोरी बाहेक अन्य नाकामा पनि निगरानी बढाउनुपर्नेमा जोड दिए ।त्यस्तैगरि नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सदस्य जगत राईले मानव बेचविखन विरुद्ध क्रियाशिल संघ संस्थाहरुबीच समन्वय हुनुपर्ने बताए । कार्यक्रममा माईती नेपाल वीरगञ्ज शाखा प्रमुख संगिता पुरीले चालु आर्थिक वर्षको ११ महिनामा १ सय ९० जना महिला तथा बालिकाहरुको उद्दार गरिएको जानकारी गराईन् ।११ महिनामा सीमानामा सोधपुछ गरेर १४ हजार ४ सय ८० जनालाई मानव बेचविखन सम्बन्धि जानकारी गराईएको माईती नेपाल वीरगञ्जकी कार्यालय सहायक एलिषा श्रेष्ठले जानकारी दिईन् ।