काठमाडौं , २ असोज । एमाले अध्यक्ष केपी ओलीको विशेष दूतका रुपमा दिल्ली पुगेर फर्केका एमाले सचिव प्रदीप ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे भारतीयहरुमा देखिएको भ्रम हटाएर फर्केको बताएका छन् ।

‘यताबाट भएको बि्रफिङको परिणाम हुन सक्छ, भारतीयहरुका नेपालको पछिल्लो राजनीतिक स्थितिबारे केही भ्रमहरु रहेछ्न,’ ज्ञवालीले भने,’हाम्रो भ्रमणले त्यो भ्रमलाई तोड्न धेरै हदसम्म सहयोग गर्‍यो भन्ने महसुस भएको छ ।’

एमालेको टोली शुरुमा दिल्लीस्थित नेपाली दूताबासमा पुगेको थियो । नेपालको अहिलेको परिस्थितिबारे भारतीयहरुलाई प्रष्ट पार्न राजदूत दीपकुमार उपाध्यायले पनि राम्रो प्रयत्न गरिरहेको ज्ञवालीले बताए ।

‘दीपकुमार दाइको भूमिका एकदमै पोजेटिभ देखियो,’ ज्ञवालीले भने-‘हामीले आफ्नो भ्रमणबारे दूतावासलाई जानकारी गराउन जरुरी थियो, त्यसैले हामी सुरुमा दुतावासमा गयौं ।’

भारतीयमा रहेको भ्रम

ज्ञवालीले दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सुरक्षा सल्लाहकार, प्रधानमन्त्री कार्यालयका मुख्यसचिव, राष्ट्रिय स्वयंसेवक संघका प्रमुख र सत्तारुढ भारतीय जनता पार्टीका बरिष्ठ उपाध्यक्षलाई भेटेका थिए । यसका अतिरिक्त अन्य नेता र उच्चपदस्थ सरकारी अधिकारीहरुसँग पनि एमाले टोलीले कुराकानी गरेको थियो ।

भारतीयसँगको भेटमा भएको कुराकानीबारे जानकारी दिँदै एमाले नेता ज्ञवालीले  भने-‘यताबाट उनीहरुलाई इमोसनल ब्ल्याकमेलिङ नै गरिएको रहेछ, मधेसमा ६० हजार सनेा परिचालन गरिएको र कैलालीमा सयजनाको हत्या गरेर लास लुकाइएको जस्तो प्रश्नहरु उनीहरुले गरे ।’

त्यसैगरी मधेसी समुदायलाई वार्तामा ल्याउन नचाहेको र भारतीय पक्षले दिएको सुझावलाई समेत बेवास्ता गरिएको भन्नेजस्ता प्रश्नहरु पनि भारतीय पक्षले उठाएको ज्ञवालीले बताए । उनले भने- ‘भारतीयहरुमा हाम्रैतिरबाट भ्रम छर्न खोजेको जस्तो पाइयो ।’

आफूहरुले मधेसी र थारु लगायतका समुहसँग पटक-पटक वार्ताको प्रास गरेको, प्रधानमन्त्रीले पत्र लेखेको, सेना परिचालन नभई दंगाग्रस्त क्षेत्रमात्रै घोषणा गरिएको र कैलालीमा आन्दालनेकारीभन्दा प्रहरीको धेरै संख्यामा हताहती भएको जस्ता कुराहरु आफूले भारतीयलाई स्पष्ट पारेको ज्ञवालीलेबताए ।

‘केही नेताहरुले एक दुई दिन प्रक्रिया लम्ब्याएर सहमति खोज्दा के हुन्थ्यो, भन्ने प्रश्न गरेका थिए,’ ज्ञवालीले ग भने-‘तपाईहरुलाई हतारमा यस्तो गरियो जस्तो लाग्यो होला, तर हामीले ९ वर्षदेखि सहमतिको प्रयास गर्दै यो ठाउँसम्म आइपुगेका हौं भन्ने हामीले जवाफ दियौं ।’

दिल्लीको गुनासो

एमाले नेता ज्ञवालीका अनुसार भारतीयहरुले अव्यक्त भावमा केही दिन प्रक्रियालाई रोक्न सुझाव दिनुका साथै भारतको भूमिकालाई नेपाली नेताहरुले अस्वीकार गरेको जस्तो गुनासो प्रकट गर्न खोजेका थिए । तर, यसै गर भनेर सुझाव चाँहि नदिएको उनले बताए ।

‘ठोस प्रेस्किप्सन नै त भनेन्, तर अव्यक्तरुपमा भारतको भूमिका देखिएन भनेजस्तो गुनासो प्रकट हुन्थ्यो,’ ज्ञवालीले भने,’तर, सीमानामा भइरहेको अशान्तिप्रति उनीहरुको अलि बढी चासो र चिन्ता देखिन्थ्यो ।’

बिहारको चिन्ता

बिहारमा बिधानसभाको चुनाव आउन लागेका बेला भारतीय सीमामा भएको आन्दोलनका कारण भारतलाई नकारात्मक असर पर्ने चिन्ता भारतीयहरुले प्रकट गरेको ज्ञवालीले  बताए ।

ज्ञवालीका अनुसार मधेसमा भारतीयहरुको चासो बिहारको चुनावसँग पनि जोडिएको देखउिको छ । ज्ञवालीले यसबारे भारतीयको भनाइ उद्धृत गर्दै भने- ‘नेपालबाट भारतमा शरणार्थीको शिविर नै बसाउने हल्ला चलेपछि भारतीयहरुमा चिन्ता देखिएको पाइयो । बोर्डरमा भएकाले नेपालमा भएको अशान्तिको असर भारतसँग जोडिन सक्छ, चुनावका बेला नेपालबाट मानिसहरु बिहारमा प्रवेश गर्न सक्छन, भारतीय नेताले पनि सार्वजनिक खपतका लागि केही बोलिदिन सक्छन् र हामी विवादमा पर्न सक्छौं तर, हामी विवादमा पर्न चाहन्नौं भन्ने भारतीयको बुझाइ पाइयो ।

छिमेकीका नाताले सीमासँग जोडिएका जनताको विषयमा चिन्ता गर्न स्वभाविकै भएको ज्ञवालीले बताए । तर, संविधान निर्माणमा चाहिनेभन्दा बढी चासो देखाएको आफूले नपाएको र नेपालीले बनाउने संविधानलाई भारतले स्वागत गर्ने वचन दिएको उनले स्पष्ट पारे ।

यद्यपि सबैलाई समेटेर संविधान बनायो भने नेपालमा शािन्त र स्थायित्व हुने उनीहरुको भनाइ रहेको ज्ञवालीले स्पष्ट पारे । आफूहरुले पनि संविधान संशोधनमार्फत पछि पनि सबैलाई समेट्न सकिने र प्रदेशका सम्बन्धमा आयोग गठन गरिने भएकाले त्यसले मिलाउने स्पष्ट पारेको ज्ञवालीले  बताए ।

शनिबार भारतीय विदेशसचिव एस जयशंकर नेपाल फर्किएकै दिन दिल्लीबाट काठमाडौं आएका ज्ञवालीले मोदी सरकारले मधेसमा कुनै दलहरुलाई उक्साएर अशान्ति मच्चाउन नचाहेको स्पष्ट पारे ।
‘मोदी प्रशासन मधेसमा अशान्ति हुँदा भारतलाई समेत घाटा हुनेमा स्पष्ट देखियो । तर, विहारसँग जोडिएका कतिपय नेताहरु र यताबाट दिल्लीमा हुृने बि्रफिङ केही फरक परेको हो कि भनेजस्तो देखियो,’ ज्ञवालीको निश्कर्ष छ,’ भारतको पोलिटिकल लिडरशीप सिंगो नेपालसँग डिल गर्न चाहन्छ, तर, ब्युरोक्रेसी, इन्टिलिजेन्स र राजनीतिक नेतृत्वको बुझाइमा कहीँ न कहीँ एकरुपता नभएको हो कि भनेजस्तो देखिन्छ ।’

सरकारको कुरै भएन

कतिपयले केपी ओलीले आफू प्रधानमन्त्री बन्ने बाटो खोल्न तपाईलाई दिल्ली पठाएको चर्चा छ नि भन्ने प्रश्नमा ज्ञवालीले भने- ‘त्यो गलत हल्ला हो, दिल्लीमा सरकारका विषयमा कुनै कुरै भएन, तर कतिपय भारतीय नेताहरुले केपी ओलीले संविधान निर्माणमा स्टटेम्याशीप देखाएको भन्दै प्रशंसा चाँहि गरे ।’