बीरगंज, २८ पुस । नारायणी उपक्षेत्रीय अस्पतल परिसरमा सञ्चालनमा रहेका औषधि र नास्ता पसलमा प्रशासनले आज सिल गरिदिएको छ ।पटक पटक अस्पताल व्यवस्थापन समितिले अस्पतालको सटर खाली गरिदिन गरेको आग्रहलाई अटेर गरेपछि प्रशासनले १४ वटा सटर सिल गरिदिएको हो । नारायणी फार्मेसी, सुरभी मेडिकल हल, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम मेडिकल, प्रभात मेडिकल, आफताब मेडिकल सँगै कृष्ण कोल्ड स्टोर, गुप्ता होटल लगायत १४ वटा पसल सञ्चालनमा छन् ।  औषधि पसलहरूले मासिक २ हजारदेखि २० हजारसम्म भाडा तिर्ने गरेको लेखा शाखाले जनाएको छ । प्रशासनले सटरमा सिल लगाउने जानकारी पाएका औषधि तथा नास्ता पसलेहरुले आज अबेरसम्म औषधि पसल खोलेका थिएनन् ।प्रशासनले कडा सुरक्षा व्यवस्था गरेर सटरहरुमा लहाछाप लगाइदिएको छ । प्रशासनको निर्देशनमा अस्पताल हाताभित्र रहेका सटरहरु सिल गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिए ।पछिल्लो पटक अस्पतालले पुस २५ गतेसम्म सटर खाली गराउने अन्तिम म्याद दिएको थियो । अस्पतालले आफ्नै औषधि पसल समेत स्थापना गरेर सेवा शुरु गरिसकेको छ । लामो समयदेखि अस्पताल प्रशासनले सटर खाली गराउने प्रयास गरे पनि औषधि व्यवसायीहरूले राजनीतिक दवाव दिनुका साथै अदालतमा मुद्दा दर्ता गरेर रोक्दै आएका थिए । तीन वर्षदेखि अस्पताल तथा सटरधनीहरुबीच विवाद चल्दै आएको थियो ।