काठमाडौं, १६ भदौ । नेपाली नक्कली नोट छापेर नक्कली नोट कारोबारमा सम्लग्न एक जनालाई काठमाडौं प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले नुवाकोट बागेश्वरी घर भइ काठमाडौंको नेपालटारमा बस्ने २० वर्षका दीपक न्यौपानेलाई सार्वजनिक गरेको हो । गोगंबु बसर्पाक क्षेत्रमा नक्कली रुपैयाँको भइरहेको सुराकीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । बसर्पाक क्षेत्रबाट एक हजारका ८० थान, उनको नेपालटारस्थित कोठाबाट एक हजारको ५५ थान र १३ वटा छाप्न ठिक्क पारिएका कागजसहित न्यौपानेलाई पक्राउ गरेको प्रहरीले बतायो । उनले १६ हजार नक्कली रुपैयाँ बजारमा पठाइसकेका छन्।

१६ हजार नक्कली रुपैयाँ साढे ४ सय रुपैयाँमा बसपार्क क्षेत्रमा साटेको उनले बताए । नेपालटारस्थित ग्रामिण आर्दश कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत न्यौपानेले पत्रकार सम्मेलमा धेरै रकम चाडै कमाउन आफूले नक्कली नोट छाप्न शुरु गरेको बताए।