चितवन, २ भदौं– नक्कली डाक्टर बनेर गर्भवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा समातिएका बालकुमारी कलेजका लेखा शिक्षक डायमण्ड श्रेष्ठलाई न्यायिक हिरासतमा राख्न आदेश भएको छ ।

मंगलबार चितवन जिल्ला अदालतका अतिरिक्त जिल्ला न्यायाधीश शेखरचन्द्र अर्यालको इजलासले यस मुद्दा नियमित सुनुवाइ प्रक्रियाबाट टुङ्गो लगाउन न्यायिक हिरासतमा राख्न आदेश भएको चितवन अदालतका नायव सुब्बा जयनारायण आचार्यले बताए । भरतपुर ११ बस्ने वर्ष ३६ का डायमण्ड श्रेष्ठविरूद्ध साउन ७ गते जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार साउन ५ गते राति ९ बजे नारायणी सामुदायिक हस्पिटलमा गर्भवती भएर उपचार गर्न आएकी खैरहनी–१ की एक महिलालाई डाक्टर हुँ भन्दै श्रेष्ठले जबर्जस्ती प्रयास गरेका थिए ।

त्यस्तै, सोही दिन राति १० बजे श्रेष्ठले भरतपुरको सरकारी अस्पतालमा भर्ना भएर प्रसूति वार्डमा बसेकी माडी नगरपालिका १५ बस्ने १९ वर्षीया युवतीलाई नक्कली डाक्टर बनेर जबर्जस्ती करणी गरेको आरोप प्रहरीले लगाएको छ । त्यस्तै, आरोपित श्रेष्ठलाई साउन ५ गते दिउँसो भतरपुर– ७ का स्थानीय महिलामाथि यौन दुव्र्यवहार गरेको आरोप पनि लागेको छ । यसैबीच साउन ३ गते भरतपुर ७ स्थित एक घरमा रहेकी महिलालाई घरभित्र पसेर जबर्जस्ती करणी प्रयास गरेको भन्दै प्रहरीमा उनीमाथि अर्को उजुरी पनि परेको छ ।

मापसे गरी डाक्टरको नक्कली रुप धारण गरेका श्रेष्ठविरूद्ध जबर्जस्ती करणी उद्योगका ४ मुद्दा चितवन प्रहरीमा दर्ता भएको छ । डाक्टरको भेषमा श्रेष्ठले प्रसूति वार्डमा रहेकी महिलामाथि जथाभावी रुपमा शारीरिक स्पर्श गर्न थालेपछि उनी प्रहरी फन्दामा परेका थिए ।