काठमाडौं , २३ भदौ । सरकारले देशका प्रमुख ठूला शहरहरुमा यातायातको सहजताका लागि आफै बस सेवा संचालन गर्नेभएको छ ।

व्यवस्थापिका संसदको बिहिबारको वैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शहरी यातायात सेवा सहज बनाउनका लागि नेपालका प्रमुख शहरमा बस सेवा संचालन गर्ने योजना सुनाए । प्रधानमन्त्री दाहालले छ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरी काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, विरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत् सञ्चालन गरिने योजना सुनाए ।

त्यस्तै काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवा व्यवस्थित गर्नका लागि दुई वटा रुटमा एकीकृत सार्वजनिक परिवहन प्रणालीबाट सार्वजनिक यातायात सेवा शुरु गरिने र कम्तिमा एउटा रुटमा सार्वजनिक आयतयातका लागि छुट्टै लेनको व्यवस्था गरिनेपनि प्रधानमन्त्री दाहालले बताए ।

त्यस्तै उनले मिटर ट्याक्सीबाट यात्रु ठगिनेक्रम रोक्नका लागि आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिने पनि उल्लेख गरे ।