काठमाडौं, असोज २३ – सरकारले पेट्रोलियम पदार्थको अभावमा दसैँमा घर जान पाइएन भन्ने गुनासो सुन्न नपर्ने गरी पेट्रोलियम पदार्थको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउँदै आएको छ ।

अघिल्लो दसैँमा झण्डै २६ लाख मानिस काठमाडौंबाट बाहिरिएकोमा यस वर्ष १५ लाख बाहिरिने अनुमान गरिएको छ । यति धेरै यात्रुलाई गन्तव्यसम्म पु¥याउन कति गाडी र कति पेट्रोलियम पदार्थ चाहिएला ?

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्नुहुन्छ ‘झण्डै ५० हजार गाडी आवश्यक पर्छ, त्यसमध्ये दैनिक ६ हजार दुई सय ५० वटा गाडी गुड्नेछन् ।’ एउटा गाडीलाई सालाखाला १ सय ५० लिटरका दरले दैनिक ९ लाख ३७ हजार लिटर र दशै अवधिभरका लागि ७४ लाख ९६ हजार लिटर डिजल आवश्यक पर्नेछ ।

महासंघले देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्दै आएका २ सय ८० वटा संघ, समिति तथा प्रालिले दिएको तथ्यांकबाट पेट्रोलियम पदार्थको मागको परिमाण निकालेको हो । महासंघले उपत्यका भित्र सञ्चालन हुने गाडी, पर्यटक बस, ट्याक्सी, फलफूल तथा तरकारी ढुवानीका साधन, काठमाडौं–धादिङ, काठमाडौं–त्रिशुली र कोटेश्वर पूर्व विपी राजमार्ग र अरनिको राजमार्गमा गुड्ने गाडीको आँकडा छुट्टै निकालेको छ ।

महासंघले उपत्यका भित्र गुड्ने २ हजार ८ सय बसका लागि प्रति बस ४० लिटरका दरले १ लाख १२ हजार लिटर, १९ सय मिनीबसका लागि प्रति मिनीबस ३० लिटरका दरले ५७ हजार लिटर, ८ सय माइक्रोबसका लागि प्रति माइक्रोबस २५ लिटरका दरले २० हजार लिटर र ४ सय पर्यटक बसका लागि प्रति बस २० लिटरका दरले १० हजार लिटर पेट्रोल/डिजेल आवश्यक पर्ने जनाएको छ ।

यस्तै उपत्यका गुड्ने ५५ सय ट्याक्सीका लागि १० लिटरका दरले ५५ हजार, फलफूल तथा तरकारी ढुवानी गर्ने १ सय साधनका लागि १ हजार लिटर, काठमाडौंं–धादिङ गुड्ने १ सय ३० वटा गाडीका लागि ७५ लिटरका दरले ९ हजार ७ सय ५० लिटर, काठमाडौं–त्रिशुली चल्ने १ सय ३० वटा बसका लागि प्रति बस ७५ लिटरका दरले ९ हजार ७ सय ५० लिटर र कोटेश्वर पूर्व विपी राजमार्ग र अरनिको राजमार्गमा चल्ने ११ सय गाडीका लागि प्रति गाडी १ सय ५० लिटरका दरले दैनिक १ लाख ६५ हजार लिटर पेट्रोलियम पदार्थ आवश्यक पर्ने अनुमान गरिएको छ । यस हिसाबले दसैँ अवधिभरका लागि काठमाडौ उपत्यका र अरनिको राजमार्ग तथा विपी राजमार्गमा गुड्ने गाडीका लागि मात्र ४९ लाख २० हजार पेट्रोलियम पदार्थ आवश्यक पर्नेछ ।

भारतीय बाटो हुँदै छिटपुट पेट्रोलियम पदार्थ आईरहे पनि त्यो हात्तीको मुखमा जिरा जस्तै भएको छ । पेट्रोलियम पदार्थ बिक्री वितरणमा मितव्ययिता अपनाउदै आएको निगमले दसैँ अवधिभर चलाउनुपर्ने गाडीका लागि आवश्यक पेट्रोलियम पदार्थको आपूर्ति पूरा गर्न सक्ने वा नसक्ने बारे केही बताएको छैन र नेपालीहरुको चाडबाड प्रभावित हुन नदिने प्रतिबद्धता जनाउन पनि छाडेको छैन । ‘हामी तत्कालका लागि हवाईमार्गबाट पेट्रोलियम पदार्थ ल्याएर भएपनि चाडबाड प्रभावित हुन दिने छैनौं’ निगमका प्रवक्ता दीपक बरालले भन्नुभयो ।

दीर्घकालीन समस्या समाधानका लागि निगमले विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ । झण्डै दुई हप्तादेखि पेट्रोलियम पदार्थको चरम संकट झेलिरहेको देशमा तत्कालको माग पूर्तिका लागि दैनिक खपत भईरहेको इन्धनको वीसौं गुणा आवश्यक पर्ने व्यवसायीले बताएका छन् ।

नेपालमा दैनिक ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ खपत हँुदै आएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरे जत्ति नै पेट्रोलियम पदार्थ दिने हो भने निगमले दसैँका लागि मात्र १ करोड २४ लाख १६ हजार लिटर पेट्रोलियम पदार्थको व्यवस्था गर्नुपर्नेछ ।