महिला, बृद्धबृद्धा र बालबालिका मात्रै गाउँमा देखिन्थे । ‘‘गाउँमा लोग्ने मान्छे छैनन्, केटाकेटी र महिला मात्रै्,’’ पशुहाटबजारबाट दुई किलोमिटर पश्चिमको मुनुवा गाविस–५ का गुनादास चौधरीले भने ।मेडिकल सञ्चालक चौधरी गाउँमा त्रास व्याप्त भएकाले गाउँबाट युवाहरु भागेको बताउँछन् । नगरपालिका र आसपासको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गरिएको छ ।

मुनुवा-५ शिवशक्तिस्थित मुक्त कमैया शिविरमा पनि पुरुषहरु देखिंदैनन् ।

टीकापुर घटनापछि थारु समुदायका युवा तथा पुरुषहरु सुरक्षाकर्मी आएर पक्राउ गर्ने डरले गाउँ छोडेका छन् भने पहाडी समुदायका युवा र पुरुषहरु थारु समुदायबाट आक्रमण हुने भयले गाउँ छोडेर पूर्वपश्चिम राजमार्ग नजिकका गाउँमा गएको स्थानीय बताउँछन् ।

‘‘दुबैतिर डर छ । थारु साथीहरु पक्राउ पर्ने डरले भागेका छन् । पहाडी साथीहरु थारुहरुले केही गर्छन की भन्ने डरले भागेका छन्’’ घटनास्थलबाट १५ किलोमिटर उत्तरको जोशीपुर गाविस–४ जोशीपुरका नरेश मल्लले भने ।

थारु समुदायको बाहुल्यता रहेको सो गाउँमा १५ परिवार पहाडी समुदायका छन् । ‘‘जे होला देखा जाएगा भनेर म मात्रै बसेको छु । अरु सबै राजमार्गतिर गइसके’’ दिनेशले भने ।

कैलालीको जोशीपुर-४ स्थित सुनसान जोशिपुर बजार

घटनास्थल पशुहाट बजार उत्तर पूर्वको दुर्गौली गाउँका महिलाहरु समेत घरबाट बाहिर निस्केका देखिएनन् । फाट्टफुट्ट आगनमा देखिएका महिला तथा बालबालिका पनि नयाँ मान्छे देख्ने वितिक्कै लुक्छन् ।

त्यही नजिकैको मनुवा गाविस–१ कञ्चनपुर गाउँका सुन्दर चौधरीलाई घाइते अवस्थामै प्रक्राउ गरिएपछि गाउँमा पुरुष कोही छैनन् । बडघरको आदेशले सबै जुलुसमा गएको बताउदै स्थानीय सीता चौधरीले भनिन् ‘‘पक्राउ परिने डर छ, गाउँमा बस्न गाह्रो भयो ।’’

कैलालीको मुनुवा-१ कञ्चनपुरका पुरुषहरुले पक्राउ पर्ने डरले गाउँ छोडेका छन् ।

‘‘कसैसँग नराम्रो बोल्ने पनि होइनन् । भगतले नराम्रो बोले पनि पाप लाग्छ भन्छन् । कुटपिट गर्ने त कुरै आउदैन’’ सीताले भनिन् । भलमन्सा (गाउँका मुखिया) ले जुलुसमा नजानेलाई एक हजार रुपैयाँ सजाय हुन्छ भनेपछि सुन्दर पनि जुलुसमा गएको उनले बताइन । सुन्दरको खुट्टामा गोली लागेपछि नेपाल रेडक्रसको टोलीले अस्पताल पुर्‍याएको थियो । उनलाई अस्पतलाबाट पक्राउ गरी धनगढी लगिएको छ ।

टीकापुर र आसपासको गाउँमा मावनअधिकारकर्मी, पत्रकार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाजका अगुवा कोही पनि नआउदा झन गाह्रो भएको स्थानीय बासिन्दा बताउँछन् । सेना र प्रहरी मात्रै आउने गरेको र केही नबोलेर जाने गरेको बताउने उनी कसैले आप्mनो कुरा नसुनेको गुनासो गर्छिन् । कर्फ्यूका बारेमा समेत जानकारी नभएका स्थानीय बासिन्दा के हुने हो भन्ने डरले त्रासमा रहेको बताउँछन् ।