ताप्लेजुङ, १३ फागुन । ताप्लेजुङमा यात्रुवहाक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते भएकामध्ये चालकका सहयोगी सहित चारजनाको अवस्था गम्भीर रहेको छ ।ताप्लेजुङको आम्बेगुदिनदेखि झापाको बिर्तामोडका लागि छुटेको विशाल यातायातको मे १ ख १७९९ नंको बस आम्बेगुदिन तीनस्थित सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुने हरुमा  इन्द्र कटुवाल, पेदाङ–८ का २२ वर्षीय ध्रुव विक, पेदाङ–६ का धनप्रसाद मावो, पेदाङ–८ का ललिता माबो, खेवाङ–९ का १८ वर्षीय रञ्जीत लिम्बू, सोही स्थानका ३४ वर्षीय सन्तकुमार लिम्बू, ३६ वर्षीया रीता लिम्बू, झापा शनिअर्जुन नगरपालिकाका ४१ वर्षीय टीकाराम विष्ट, सोही स्थानका सहचालक भीम कटुवाल, खेवाङ–६ का ७४ वर्षीय जगन्नाथ भट्टराई र उनकी श्रीमती ५४ वर्षीया नरमायाँ भट्टराई रहेको प्रहरीले जनाएको छ । घाइतेहरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।