तनहुँ, २६ भदौ । तराईका विभिन्न जिल्लामा संविधान र सीमाङ्कनमा असन्तुष्टि जनाएर आन्दोलन भइरहे पनि पृथक विषयमा भएको आन्दोलनले उग्र रुप लिँदा तनहुँमा एक आन्दोलनकारीको मृत्यु भएको छ ।

घटनामा परी ९ प्रहरी र ३ आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् । प्रहरीको गोली लागी व्यासनगरपालिका वडा नं १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुराको मृत्यु भएको हो । गोली लागी सख्त घाइते भएका दुराको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

झडपमा प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद वाग्ले, प्रहरी सहायक निरीक्षक मानबहादुर थापा, रमेश खरेल र कृष्ण परियार, प्रहरी हवल्दार सुशील भण्डारी, हरिबहादुर कुमाल र प्रहरी जवानतर्फ चन्द्रबहादुर प्रजा, सुनिल गुरुङ र सन्तबहादुर कुँवर घाइते भएका छन् । त्यसैगरी आन्दोलनकारीतर्फ व्यासनगरपालिका– ११ निवासी किरण गुरुङ सख्त घाइते भएकाले उपचारका लागि पोखरा पठाएको छ भने एक शिशुलाई उपचारपछि घर फर्काइएको छ ।