वीरगंज २३ साउन । चीनले सीमा विवाद रहेको क्षेत्र डोकलामबाट भारतीय सेनालाई हटाउनका लागि सैन्य अभियानको तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सेनालाई डोकलामबाट हटाउनका लागि आउँदो दुई हप्ताभित्र सानो सैन्य अभियानको तयारी गरेको चिनियाँ कम्युनिष्ट पार्टीको पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ । ग्लोबल टाइम्समा छापिएको लेखमा चीनले डोकलाममा रहेको गतिरोध लामो समयसम्म लम्ब्याउन नचाहेको र त्यसका लागि सानो आकारको सैन्य अभियानको तयारी गरेको उल्लेख गरिएको छ । डोकलाममा भारतले सैन्य गतिविधि बढाएपछि चीनले त्यसको विरोध गर्दै आएको छ । दुवै देशले सीमा विवाद रहेको क्षेत्रमा सैनिकको संख्या बढाएपछि तनाव बढेको हो ।