जेठ १८,काठमाडौं: अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले राजीनामा दिएका छन्। राहतमा आएको जस्तापाता बिक्रीको आरोप खेपेका महतले न्यायिक छानबिनको माग गर्दै राजीनामा दिएका हुन्। उनी अर्थमन्त्री महतका भतिज समेत हुन्।

भूकम्प गएपछि लगातार राहत र पुनर्निर्माणमा जुटेको थिएँ। अनावश्यक रुपमा म र राष्ट्रिय व्यक्तित्व बनाउनुभएको अर्थमन्त्रीज्यूलाई समेत मुछ्ने काम भयो,’ उनले पहिलोपोस्टसँग भने, ‘मैले यो घट्नाको निष्पक्ष छानबिन होस् भन्नका लागि राजीनामा दिएको हो।’ उनले सामाजिक काममा लाग्दा कांग्रेसभित्रैको आन्तरिक राजनीतिले आफूलाई पीडित बनाएको समेत बताए। ‘यो घट्नाले यति ठूलो रुप लिइसक्दा पनि जिल्लाका पार्टी सभापतिले केही बोल्नुभएको छैन। पार्टीको अधिवेशन आउन लागेको बेला मेरो प्रभाव बढेको देखेर फसाउने काम भएको हो,’ महतले भने, ‘यो घटनालाई थप उछाल्ने काम भएको छ।’ उनले स्थानीय स्तरबाट अर्थमन्त्रीलाई समेत जोडेर छबि विगार्ने काम भएको आरोप लगाए। ‘भूकम्पपछि अर्थमन्त्रीज्यूले धेरै राम्रो काम गर्नुभएको थियो। उहाँको पनि प्रभाव बढेको देखेकाहरुले ड्यामेज गर्ने प्रयास गरे,’ उनले भने, ‘अब न्यायिक निकायले छानबिन गरेपछि सत्यतथ्य बाहिर आउने अपेक्षामा छु।’ उनले भूकम्पपछि आफ्नो परिवारलाई साथीको घरमा राखेर समाजसेवामा लागेको व्यक्तिलाई तल्लोस्तरको राजनीति गरेर पीडित बनाएको बताए। ‘भूकम्प आउनेबित्तिकै नुवाकोटमा राहत र पुनर्निर्माणमा लागेको व्यक्तिलाई तल्लोस्तरको राजनीति गर्नेले पीडित बनाउन खोजेका छन्,’ महतले भने, ‘न्यायिक छानबिनले सबै बाहिर ल्याउन सहयोग पुर्‍याउने अपेक्षामा छु।’ नेपाल इन्भेष्टमेन्ट बैंकले विद्यालय पुनर्निर्माणका लागि दिएको जस्तापाता बिक्री गर्न लागेको भन्दै स्थानीय राजनीतिक दलको अगुवाइमा स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए। बैंकको छाप भएका तीन सय बण्डल जस्तापाता भूकम्पपीडित परिवारलाई वितरण गर्न जेठ १४ गते नुवाकोट लगिएको थियो।