वीरगंज २४ पुष ।पर्साको महुवनमा आज नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को क्षेत्रिय भेला सम्पन्न भएको छ क्षेत्रिय समितिको आयोजनामा सम्पन्न भेलामा पार्टी कार्यकर्ताहरुको वृहत सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता एवम जिल्ला विकास समिति पर्साका पूर्व सभापति जनार्दन सिंह क्षेत्रीले सबै कार्यकर्तालाई समेटेर गुट उपगुटको अन्त्य गर्न आफू पार्टी सभापतिको उम्मेदवार बनेको बताउनु भयो । उहाँले पार्टीलाई सशक्त रुपमा हाक्न आफूलाई सहयोग गर्न पार्टी कार्यकर्ताहरुलाई आह्वान गर्दै पार्टी कार्यकर्ताहरुको भावना अनुरुप आफू अगाडी बढने र पार्टीको गरिमालाई बढाउँदै पुनः नेपाली कांग्रेसलाई पर्सा जिल्लामा एक नम्बर पार्टीको रुपमा स्थापित गर्ने अभियानमा आफू निरन्तर रुपमा लागि रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । अहिले पर्सा कांग्रेसले सशक्त र जुझारु नेतृत्व खोजेकोले कांग्रेस पर्सामा लोकप्रिय रहेका क्षेत्रीलाई नै नेपाली कांग्रेस पर्साको सभापतिको रुपमा जिताउन अहिले कांग्रेसका सबै तहका नेता तथा कार्यकर्ताहरु एकजुट भएका छन् । त्यसैगरि आज सम्पन्न कार्यकर्ता भेलाले आउँदो पुष २८ गते हुन लागेको नेपाली कांग्रेस पर्साको अधिवेशनमा पार्टी सभापतिको रुपमा जनार्दन सिंह क्षेत्रीलाई अत्याधिक बहुमतले विजयी बनाउन अभियान नै संचालन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र न ४ का क्षेत्रिय सभापति बब्लु श्रीवास्तवको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेलामा पुर्व सांसद रामेश्वर रौनियार, थारु कल्याणकारी पर्साका अध्यक्ष हेमनारायण चौधरी, नेपाली कांग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि भगवती चौधरी, क्षेत्रिय कोषाध्यक्ष सुलमान मियाँ दर्जी, महुवनका बुथ सभापति जुगेश्वर यादव, महाधिवेशन प्रतिनिधि साबिर मियाँ अंसारी, थारु शिक्षक पर्साका प्रतिनिधि महेन्द्र चौधरी, स्थानीय नेता जयराम चौधरी, युवा नेता ज्वाला गिरी, नागेन्द्र चौधरी, मनोज यादव, लालदेव महतो लगायतका नेता तथा कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।