बीरगंज, २६ साउन । पर्साको निर्मवस्ती गाविसमा हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गएको छ । पर्सा वन्यजन्तु आरक्ष अन्तर्गतको मध्यवर्ती क्षेत्रबाट निस्किएको जंगली हात्तीको आक्रमणबाट निर्मवस्ती गाविस– ५ बस्ने ७२ बर्षीय जरी पाख्रिनको आज बिहान ५ बजे मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मध्यवर्ती क्षेत्रबाट मानव वस्तीमा पसेको जंगली हात्तीले जरी पाख्रिनको घरमा रहेको मकै खाएको र बृद्ध पाख्रिन बाहिर निस्केर हात्ति भगाउने जुक्ति गर्दा हात्तीले सुँढले पाख्रिनलाई उढाएर आँगनमा पछारेको थियो । गत असार २९ गतेदेखि निर्मलवस्ती गाविसमा जंगली हात्ती आरक्षबाट आउने र बालीनाली खाएर दुःख दिने काम गरिरहेको छ । यसबारेमा पटक पटक पर्सा वन्यजन्तु आरक्षलाई आग्रह गर्दा समेत कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरे । जंगली हात्तीको बथानले पर्सा वन्यजन्तु आरक्षसँग जोडिएका निर्मलवस्ती, सुवर्णपुर, ठोरी, महादेवट्टी, शंकर सरैया, सेढवा, मधुवन मथवल, गादी लगायत गाविसहरुमा बालिनाली नष्ट गर्ने, घर भत्काउने कार्य गर्दै आएकोमा आज पाख्रिनको ज्यान समेत लिने काम गरेको छ ।