वीरगंज, १६ साउन ÷ बीरगंज–२ छपकैयामा रहेको सार्वजनिक छठघाट पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै आजदेखी महिलाहरुको विशेष सहभागितामा आन्दोलन शुरु भएको छ ।

            सार्वजनिक छपकैया छठघाट पोखरी सर्वाेच्च अदालतका न्यायाधिश चोलेन्द्र शम्शेर राणाले नातामा साला पर्ने प्रमोद विक्रम शाहको नाममा दर्ता गर्ने निर्णय गरेको विरुद्धमा गत असारको दोश्रो सातादेखी छठघाट व्यवस्थापन समितीले आन्दोलन गरेको थियो । सार्वजनिक छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने मागसहित आन्दोलन गरेको समितीले पछिल्लो समयमा २५१ सदस्य संघर्ष समिती गठन गर्दै पर्सा जिल्ला अदालतमा मुद्दा दर्ताको लागि संघर्ष समितीका सदस्य जितेन्द्र पटेललाई जिम्मा दिएको थियो । पटेललाई यहि साउन १२ गते मंगलवारका दिन मुद्दा दायर गर्ने जिम्मेवारी दिएकोमा प्रमोद विक्रम शाहको पक्षमा लागि परेका नारायणप्रसाद अर्याललगायतको भुमाफियाबाट प्रभावित भएर मुद्दा दर्ता हुन सकेन । मुद्दा दर्ता नगरिएपछि आज छठघाट पोखरीमा भएको बृहद भेलामा छठघाट व्यवस्थापन समितीका अध्यक्ष प्रदीप कुर्मी र संघर्ष समितीका सदस्य एवम मुद्दा दर्ताको जिम्मेवारी पाएका जितेन्द्र पटेलले साढे सात कठ्ठा जग्गा प्रमोद विक्रम शाहबाट छठघाटका लागि लिएर बाकी रहेको साढे बाइस कठ्ठा शाहलाई भोग गर्न दिने भनि ल्याएको प्रस्तावलाई सबैले नकारेका छन ।

             संघर्ष समितीका अध्यक्ष प्रेम कुशवाहा भने सार्वजनि छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने अडानमा कायम छन । अध्यक्ष कुशवाहा र हिन्दुवादी नेता विनय यादवले आज छठघाटमा आयोजित भेलामा कुनैपनि हालतमा सार्वजनिक पोखरी सार्वजनिक हुने दावी गरे । वहाहरुले सबै प्रमाणहरुको आधारमा पर्सा जिल्ला तथा पुनरावेदनले सार्वजनिक कायम गरेको पोखरी नातागोताको हिसाबले व्यक्तिको हुने भनि सर्वाेच्चले गरेको आदेश जनताले मान्नुपर्ने करकाप नभएको बताउनुभयो । अदालतले गरेको गल्ती अदालतबाटै सच्चाउनका लागि अवसर दिइने र त्यसको सदुपयोग अदालतले नगरे विद्रोह हुने घोषणा पनि गर्नुभयो । यता आजदेखी नियमित रुपमा संघर्षका कार्यक्रम गरिने भएको छ । परमानन्द सोनार, दीनानाथ सोनार र राधेश्याम सोनारले संघर्ष समितीका अध्यक्ष कुशवाहालाई यसकार्यमा सघाउनु हुनेछ ।

           यता आजदेखी सार्वजनिक छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने मागसहित महिलाहरुले विशेष रुपमा सघाउने भएका छन । वडा नं. १ देखी ४ र १९ नम्बर वडाका महिलाहरुले सार्वजनिक छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने भन्दै आज नगरमा प्रदर्शन पनि गरे । महिलाहरुले सार्वजनिक छपकैया छठघाट पोखरीमा पुरुषहरुले नेतृत्व लिएर भ्रष्टाचार गरेको भन्दै अगाडी सरेको राधेश्याम सोनार बताउनुभयो । आजदेखी सो पोखरीमा छठपुजा गर्ने सबै वडाका महिलालाई सहभागिता गराउने वहाले बताउनुभयो । यसैबीच मुद्दा दर्ताको जिम्मेवारी पाएका पटेलले मुद्दा दर्ता नगरेपछि सोही मुद्दा भोलि पर्सा जिल्ला अदालतमा दर्ता गरिने राधेश्याम सोनारले बताउनुभयो ।