चेन्नई,जेठ २२ : भारतको तमिलनाडू राज्यमा नेपाली ब्राण्डको चाउचाउ वाइवाइमाथि प्रतिबन्ध लगाइएको छ। तमिलनाडू राज्य सरकारले भारतको नेस्ले ब्राण्डको म्यागीसँगै वाइवाई एक्सप्रेस नुडल्स, रिलाइन्स सेलेक्ट नुडल्स् र स्मिथ तथा जोन्स चिकेन मसला नुडल्समाथि प्रतिबन्ध लगाएको हो।

तमिलनाडूकी मुख्य मन्त्री जयललिताको निर्देशनमा खाद्य सुरक्षा कमिस्नरले यी ब्राण्डका चाउचाउको उत्पादन, भण्डारण र बिक्रीमा तीन महिनाका लागि प्रतिबन्ध गरेको हो।

स्थानीय सरकारले तीनवटै चाउचाउमा आवश्यकताभन्दा बढी अजिना मोटो र शिशा भेटेपछि तीन महिनाका लागि बिक्री वितरणमा रोक लगाएको हो । नेपालको चौधरी ग्रुपले वाइवाइ उत्पादन गर्छ । नेपालसहित वाइवाइको भारतमा पनि उत्पादन कारखाना छ।

यी कम्पनीले आफ्ना उत्पादनहरु बजारबाट फिर्ता मगाउन थालेका छन्।

उता सिक्किम सरकारले म्यागी नखान आमउपभाेक्तालाई निषेधपत्र जारी गर्दै वाइवाइ, मामा र मिमी चाउचाउको जाँचका लागि क्षेत्रीय प्रयोगशाला गुहावटी पठाउन निर्देशन दिएको छ। यसको रिपोर्ट आउँदो सातासम्म आउने छ ।

‘चारवटा कम्पनीका ब्राण्डमा तोकिएकोभन्दा बढी मात्रामा सिसा (लिड) पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।