चेन्नई सुपर किंग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगको आठौं संस्करणको उपाधि जितेको छ।

यसअघि मुम्बईले सन् २०१३ मा आइपिएल जितेको थियो। टस हारेर ब्याटिङ गरेको रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले २० ओभरमा २०२ रन बनाएको थियो।

२०३ रनको विशाल लक्ष्य पछ्याएको महेन्द्रसिंह धोनी नेतृत्वमा रहेको चेन्नईले २० ओभरमा मात्र १६८ रन बनाउन सक्यो। इनिङको पहिलो ओभरमै रन आउटको रुपमा पार्थिव पटेललाई गुमाएको मुम्बईका लागि कप्तान रोहित शर्माले आक्रामक पारी खेले।

उनले २६ बलमा अर्धशतक प्रहार गरेका थिए। विशाल लक्ष्य पछ्याएको चेन्नईका लागि स्मीथले अर्धशतकीय पारी खेले। तर उनको इनिङ चेन्नईलाई विजयी बनाउन पर्याप्त भएन।

लीग खेलमा लगातार चार खेल हारेको मुम्बईले लगातार ९ खेलमा विजयी हुँदै उपाधि जितेको हो।

कलकत्ताको इडेन गार्डेन स्टेडियममा भएको फाइनलमा टस जितेर फिल्डिङ रोज्नु धोनीका लागि भारी भयो। फाइनल खेलमा मुम्बईका कप्तान रोहित शर्मा म्यान अफ द म्याच भए।