वीरगंज, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावास कार्यालयको उदघाटन गरेका छन् । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री महराले आज गुआङदोङमा आयोजना गरिएको एक विशेष कार्यक्रममलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकोमा चीन सरकार र गुआङदोङको प्रान्तीय सरकारलाई धन्यवाद दिए । मन्त्री महराले यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्धलाई यसले थप सबल बनाउने र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताए । गुआङदोङसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यो कार्यालय स्थापनापछि आर्थिक एवम् व्यापारिक गतिविधि थप विस्तार हुने बताए । गुआङदोङमा झन्डै दुईसय नेपाली व्यापारीहरु विभिन्न व्यावसायमा संलग्न छन् । उनीहरुले महावाणिज्य दूतावास खुलेसँगै नेपाली व्यापारीलाई आइपर्ने समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायतको उपस्थिति रहेको उपप्रधानमन्त्री महराका प्रेस संयोजक हरि लामिछानेले बताए ।