एजेन्सी,आषाढ २० । चिलीले पहिलो पटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।आइतबार बिहान सान्टियागोमा सम्पन्न फाईनल खेलमा अर्जेन्टिनालाई टाई ब्रेकरमा हराउँदै घरेलु मैदान र समर्थकको साथ पाएको चिलीले नयाँ इतिहास रचेको हो ।खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट गोल नभएपछिखेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन् र खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रेकरमा अर्जेन्टिनाका गोन्जाले हिगुवान र एभर बानेगा गोल गर्नबाट चुकेपछि चिली ४-१ ले विजयी भयो । जितसँगै चिलीले सन् १९५५ मा आफ्नै मुलुकमा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग भोगेको हारको मिठो बदला लिएको छ ।

६ दशकअघि सम्पन्न उक्त खेलमा चिलीलाई अर्जेन्टिनाले १-० ले हराएको थियो ।त्यसपछिका चार फाईनल खेलमा पनि पराजित भएको चिली कोपा अमेरिकाको इतिहांसमा छैठौं पटक फाइनल खेल्दै उपाधि जित्न सफल भएको हो ।चिलीका लागि यो उपाधि कुनैपनि मूख्य फुटबल प्रतियोगितामा पहिलो उपाधि हो । हारसँगै अर्जेन्टिनाको २२ वर्षदेखिको उपाधि खडेरी टार्ने सपना पूरा हुन सकेन ।

सन् १९९३ मा कोपा अमेरिका जितेको अर्जेन्टिना त्यसपछि उपाधिविहीन छ । अघिल्लो वर्ष भएको विश्वकप फुटकलको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले आफ्नो मुलुकलाई उपाधि जिताउने सुन्दर अवसर फेरी एकपटक खेर फाले ।