वीरगंज, ३० भदौ । चितवनको खोलेसिमल बजार व्यवस्थापन समिति र सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजनामा आज १२ औं खुल्ला तिज प्रतियोगिता भएको छ । चितवनका स्थानीय विकास अधिकारी भरतमणी पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष द्रोणप्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । समितिका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय १० ओटा समूहले प्रतियोगितामा सहभागी जनाएका थिए । प्रतियोगितामा रामकृष्ण मन्दिर टोल समूह प्रथम, न्यु सगरमाथा इङ्गलिस मिडियम स्कुल द्वितीय र लालीगुरास महिला समूह चैनपुर तृतीय भएका थिए । त्यस्तै जुटपानी एकेडेमी अनुशासित समूह र अर्बिट इङ्गलिस बोर्डिङ्ग स्कुलले उत्कृष्ट नृत्यमा पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारले गीत संगीत प्रस्तुत गरेका थिए ।