काठमाडौं, ६ फागुन । घरभित्रै पेट्रोल पम्प खोलेर कालोबजारी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा घरभित्र पेट्रोलपम्प खोल्ने किर्तिपुरस्थित आर.जे. सप्लायर्सका सञ्चालक दिपेश महर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महर्जनले आफ्नै घरभित्र १६ हजार लिटर क्षमताको अन्डर ग्राउण्ड ट्यांकीमा डिजेल जम्मा गरेर पेट्रोल पम्पकै शैलीमा नोजल राखेर कारोबार गर्दै आएका थिए । महानगरीय अपराध महाशाखाले महर्जनलाई ११ सय लिटर डिजेलसहित पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार बजारमा इन्धनको चरम अभाव भइरहेका बेला महर्जनले प्रतिलिटर ५ सय रुपैयाँका दरले डिजेलको कारोबार गरेका थिए । महाशाखाले महर्जनलाई कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाउन काठमाडौं प्रहरी परिसरमा बुझाएको छ  ।