वीरगंज २४ वैशाख। गोरखापत्र संस्थानको सातौं वार्षिक उत्सव वीरगंजमा रहेको सम्पर्क कार्यालयले पनि मनाएको छ । वीरगंजको होटल कुमु प्यालेसमा आयोजित लोकतन्त्रको १० वर्ष शान्ति र समृद्धिको यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले लोकतन्त्रको आधार स्तम्भ पत्रकारिता जगत नै भएकाले व्यवसायिक पत्रकारिता गर्न सुझाव दिएका थिए । कार्यक्रममा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले लोकतन्त्रलाई बलियो बनाउन आर्थिक पत्रकारिता गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नारायण सिंह खड्का, प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा, वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासका सूचना अधिकृत राजेश कुमार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सभापति श्याम बन्जारा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गोरखापत्र संस्थान सम्पर्क कार्यालय वीरगंजका प्रमुख कन्हैयालाल केसरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।