वीरगंज, जेठ २०÷ वीरगंज–१९ इनर्वाका चारजना नेपालीलाई भारतको रक्सौलबाट अस्ती एसएसबीले आफनो कब्जामा लिएकोमा आज तीनजनालाई छाडेको छ।इनर्वाका चर्चित कबाडव्यापारी महमद शेरु आलमसहित चारजनालाई अस्ती राती रक्सौलको डंकनरोडबाट एसएसबीले आफनो नियन्त्रणमा लिएको थियो । कबाडका कारोबारी शेरु आफनो भारतीय नम्बरको बलेरो गाडीबाट हजमाटोलामा रंजित श्रीवास्तवको वैवाहिक कार्यक्रममा सहभागि भएर फर्कने क्रममा एसएसबीले गाडीसहित चारजनालाई पक्राउ गरेको थियो ।

पक्राउ गरेको मध्ये तीनजना चालक बब्लु, ऐजाज र मुन्नालाई आज रिहा गरेको छ भने शेरुलाई नियन्त्रणमै राखेको छ । शेरुका परिवार, आफन्तजनले आज एसएसबीको विरोधमा इनर्वामा टायर बालेर विरोध गरेका छन । टायर बालेर विरोध गरेको अभियोगमा वडा प्रहरी कार्यालय वीर्ताले २ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । भारतीय प्रहरीले शेरुबाट ५ लाख भारु जालि नोट बरामद भएको र गोरखपुरबाट पक्राउ गरेको बताएको छ ।

युपिबाट प्रकाशित दैनिक जागरणको संस्करणमा जालिनोटसहित शेरु समातिएको समाचार प्रकाशन भएको छ । शेरुका दाजु इमरान आलमले भने भाइ रक्सौलबाट समातिएको आफुले प्रमाणित गर्ने बताए । उनले भारतीय एसएसबीले हतियार देखाएर रक्सौलबाट पक्राउ गरेको देख्ने सरकारी मानिस नै रहेको बताएका छन ।