काठमाडौं, असौज २ । तराई मधेसका एमाओवादीसम्बद्ध १४ जना सदस्यले संविधान घोषणालाई पार्टीले स्वागत गरेकोमा विरोध गर्दै दीपवली तथा उत्सव मनाउने पार्टीको निर्णयको बिरोध गरेका छन् ।

एमाओवादीका मधेसलाई प्रतिनिधित्व गर्ने ४ पोलिटब्यूरो सदस्य, ७ जना केन्द्रीय सदस्य तथा २ जना केन्द्रीय सल्लाहकारले संयुक्त विज्ञप्ती जारी गरी संविधान घोषणा प्रक्रियाको बिरोध गरेका हुन ।

१४ जना केन्द्रीय नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनको क्रममा चार दर्जनले ज्यानको बलिदान दिएको, सयौं योद्धाहरु घाइते अवस्थामा रहेको बेला पनि सरकारले बर्बरतापूर्ण दमनात्मक रवैया कायमै गरेकोले सबैलाई नसमेटि संविधान निर्माण गर्नु आफैमा दुस्साहसपूर्ण र आत्मघाती कार्य भएको बताएका छन् ।

मधेसी नेताहरुले विज्ञप्तीमा पार्टीले मधेश÷थरुहटको विषम परिस्थितिलाई आंकलन नै नगरी कांग्रेस एमालेको लहैलहैमा लागेर दीपावली र संयुक्त सभा जस्तो विजय उत्सवसम्म मनाउने निर्णयमा पुग्नु हाम्रा लागि असहनीय पीडादायी भएको उल्लेख गरेका छन् । मधेसी नेताहरुले पार्टीलाई यो निर्णय फिर्ता लिन अनुरोध गर्नुका साथै पार्टीले आव्हान गरेको उत्सव कार्यक्रमा सहभागी नहुने स्पष्ट गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डले मधेशका अधिकांश मागहरु सम्बोधन भइसकेको र सीमांकनलाई आयोगमार्फत हल गर्न सकिने बताएलगत्तै मधेसी नेताहरुको विज्ञप्ती सार्वज्निक भएको हो । यसअघि पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले दीपावली मनाउने अवस्था नभएको भन्दै पार्टी निर्णयको विरोध जनाएका थिए । विज्ञप्ती जारी गर्नेमा पोलिब्यूरो सदस्य रामचन्द्र झा, विश्वनाथ साह, प्रभु साह, महेन्द्र पासवानलगायत रहेका छन् ।

यसैगरी माओवादीसम्बद्ध थारुवान राष्ट्रिय मोर्चाले पनि संविधानमा आफ्नो असहमति रहेको भन्दै दीपावली र स्वागत गर्ने कार्यक्रममा सहभागी नहुने जनाएको छ ।

पढ्नुस् पुरा विज्ञप्ती

release1release 2