वीरगंज अषाढ १

चितवनलाई प्रदेश नम्बर–३ को राजधानी बनाउनुपर्ने माग चितवनबासीले गरेका छन् ।३ नम्बर प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको आयोजनामा आज चितवनमा भएको छलफलकाक्रममा चितवनबाट प्रतिनिधित्व गर्ने सांसद र स्थानीयहरुले यस्तो माग गरेका हुन् ।सांसद विशाल खड्काको नेतृत्वमा आएको अध्ययन टोलीले जिल्ला समन्वय समितिमा छलफल गरेको हो ।कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, रिना गुरुङ र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालसहित सहभागी बुद्विजीवी, पत्रकार, व्यापारीलगायतले चितवनमा अहिले पनि सयौं विगाहा जमिन खाली रहेको र सरकारी कार्यालयका भवनहरु पनि प्रशस्त रहेको भन्दै तत्काल पूर्वाधार निर्माण गर्नु नपर्ने भएकाले राजधानी चितवनमै राख्नुपर्नेमा जोड दिएका थिए ।भौगोलिक हिसाबले देशको मध्यभागमा रहेको र यातायातको सुगमता पनि महत्वपूर्ण पक्ष भएकाले प्रदेश राजधानीका लागि चितवन नै उपयुक्त स्थान भएको चितवनबासीले जिकिर गरेका थिए ।चितवनबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रदेशसभामा चितवनलाई राजधानी गराउनुपर्ने माग गर्दे निवेदन दर्ता गराएका छन् ।