वीरगंज,३ साउन- मुस्लिम धर्मावलम्बीहरुले आज पनि इद मनाउँदैछन् । हिजोबाट सुरु भएको इद भोलिसम्म मनाइनेछ । एक महिने ‘रोजा’को समापन गरी इद उल–फित्र मनाउँदैछन् । सरकारले आज इदको अवसरमा सार्वजनिक विदा पनि दिएको छ । सार्वजनिक बिदाका लागि आजको मितिमा कायम गर्नेगरि पत्र प्राप्त भएकाले आज नै बिदा दिएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

एक महिनाअघि सुरु गरेको मुस्लिम समुदायहरुको रमादान पर्व रोजा सकेर आकाशमा चन्द्रमा देखिएपछि विधिवत्रुपमा सम्पन्न गर्ने प्रचलन छ । रमादान पर्व सकिए लगतै तीन दिनसम्म मुस्लिम समुदायले इद पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

तीन दिनसम्म मनाइने इदुल फित्र अर्थात् इद एकआपसमा भाइचाराको कामना गर्दै मनाउने गरिन्छ । यसपर्वमा मुस्लिम समुदायहरु पवित्र भइ, नयाँ–नयाँ सफा पवित्र लुगा लगाई, ‘इदग’मा गइ ‘नमाज’ पढने गर्छन् ।