वीरगंज १९ भदौ । वि.सं. २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएकोले आज देशभरका रेडक्रसको शाखा उपशाखाहरुले रेडक्रस दिवस कार्यक्रम गरी मनाउदैछन । स्थापनाको उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद् व्यवस्थापनलगायत रेडक्रसका गतिविधिको बारेमा अन्तरक्रिया, बाढी पहिरो प्रभावितलाई राहत वितरणलगायत विविध कार्यक्रम गरी रेडक्रस दिवस देशभर मनाउन लागिएको छ । नेपाल रेडक्रस सोसाइटीका ७५ वटै जिल्लामा शाखा, एक हजार ५०८ उपशाखा, पाँच हजार ४१० जुनियर सर्कल र ८६५ वटा युवा सर्कल रहेका छन् । ती सबै निकायमा ९० हजार स्वयंसेवक तथा १० लाख ६० हजारभन्दा बढी सदस्य आवद्ध रहेका नेपाल रेडक्रस सोसाइटीका सञ्चार अधिकृत दिव्यराज पौडेलले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन, आकस्मिक सेवा र संकटासन्नता न्यूनीकरण गतिविधिलगायत अहिले ७२ जिल्लाका १०६ स्थानबाट रक्तसञ्चार सेवा, २१० वटा बाहनमार्फत् एम्बुलेन्स सेवा र दुईवटा अस्तालमार्फत आँखा स्याहार गतिविधि सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०७३, ७४ मा मात्र विपद् व्यवस्थापन तथा विकासमूलक कार्यक्रमबाट ८० लाखभन्दा बढी नागरिक लाभान्वित भएका पौडेलले बताउनुभयो । पर्र्सा शाखाले पनि दिवसको उपलक्ष्यमा झण्डोत्तोलन गरेको छ भने निजगढ उपशाखाले रक्तदान कार्यक्रम गरी दिवस मनाउदैछ ।