वीरगंज, ५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।