मकवानपुर,२१जेठ-मकवानपुरका केही बिद्यालयहरुमा अस्थाई सिकाई केन्द्र निर्माण भएका छन् भने केहीमा धमाधम निर्माण भईरहेको छ । भुकम्पले भवन पूर्ण रुपमा क्षति पुर्याएका बिद्यालयमा ३८ फिट लम्बाई र १८ फिट चौडाई कोठा भएका अस्थाई सिकाई केन्द्र निर्माण भईरहेका छन् । दातृ निकायको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय मकवानपुरसँगको समन्वय तथा राडो नेपालको प्राबिधिक सहयोगमा केन्द्रहरु निर्माण भईरहेको हो ।

 

फापरबारी–२, ज्यामिरेमा रहेको देवकी माबिमा दुई वटा अस्थाई सिकाई केन्द्र निर्माण भई प्रयोगमा आएको छ । अस्थाई सिकाई केन्द्र निर्माण भएपछि पठनपाठन गर्न सम्भब भएको बिद्यालयका प्रधानध्यापक खड्गबहादुर पुलामीले जानकारी दिनुभयो । भिमफेदी–२ मा रहेको महेन्द्र उच्च माबिमा दुई वटा र बज्रबाराही–२ मा रहेको गणेश प्राथमिक बिद्यालयमा एक अस्थाई सिकाई केन्द्र निर्माण अन्तिम चरणमा पुगेको राडो नेपालका अध्यक्ष कृष्ण धितालले जानकारी दिनुभयो ।

3

उहाँका अनुसार राडो नेपालले मकवानपुरको बेतिनी, नामटार, भैँसे, फाखेल, टिष्टु·, आग्रा, गोगने लगाएतका क्षेत्रमा २८ अस्थाई सिकाई केन्द्र निर्माण गर्दैछ । जसमध्ये २५ केन्द्र प्लान नेपाल र ३ केन्द्र टियर फण्डको आर्थिक सहयोगमा निर्माण हुनेछन् । फापरबारीको देवकी माबि र भिमफेदीको महेन्द्र उच्च माबिबाहेक बाँकी बिद्यालयमा एक–एक वटा दुई कोठे अस्थाई सिकाई केन्द्र निर्माण गरिने छन् ।

दुई कोठे अस्थाई सिकाई केन्द्र निर्माण गर्न १२ जना कामदार परिचालन गर्दा तीन दिन लाग्छ । दुई कोठे अस्थाई सिकाई केन्द्र निर्माण गर्न एक लाख रुपैँया खर्च हुने बताईएको छ । बाँस, जस्तापाता र त्रिपालबाट तयार गरिने केन्द्रमा चार ढोका र छ झ्याल रहने गर्दछ । केन्द्रको प्रत्येक कोठामा ४० बिद्यार्थी बस्न सक्ने बताईएको छ ।