रौतहट, १८ असार । जिल्ला प्रहरी कार्यालय रौतहटले अपहरणमा परेको नाटक गर्ने सखुअवा धमौरा गाविस–७ हर्षाहा टोल बस्ने ४४ वर्षीय छविलाल राउत कुर्मीलाई प्रहरीले पक्राउ छ ।

            यही असार १५ गतेदेखि अपहरणमा परेको नाटक गरी बेपता भएका कुर्मिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कुर्मिलाई चन्द्रपुर नगरपालिकाको सुकुम्बासी बस्तीबाट पक्राउ गरेका बताएको छ । हाल शुकदेव चोकमा पटेल हार्डवेयर पसल सञ्चालन गरी बसेका वीरेन्द्र राउत पटेलको पसलबाट लगेको सिमेन्ट र छडसमेतको बाँकी रकम तिर्नुपर्नेमा रकम नदिने नियत राखी कुर्मीले अपहरणमा परेको नाटक गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताउनुभयो । पक्राउ परेका कुर्मीलाई प्रहरी हिरासतमा राखी केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ अन्तर्गत कानुनी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।